×

प्रतिनिधिसभा विघटनविरुद्ध रिट प्रधानन्यायाधीशको एकल इजलासमा

जेष्ठ १३, २०७८, बिहिबार
चिठी खबर

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १९ रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले एकल इजलासमा राखेका छन्।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते राति गरेको प्रतिनिधिसभा विघटनविरुद्ध मंगलबारसम्म सर्वोच्चमा ३० वटा रिट निवेदन परेका थिए । तीमध्ये जवरमले आज १९ वटा रिटमाथि सुनुवाइ गर्दै छन्।


११ वट रिट भने संवैधानिक इजलासमा दर्ता भएका छन् । ती रिट शुक्रबार बस्ने इजलासमा पेस गरिने सर्वोच्च अदालतले जनाएको छ ।

३० वटा रिट निवेदनमध्ये २६ वटामा प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने माग गरिएको छ भने चार वटा रिट निवेदनमा केपी ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्ने र तोकिएको समयमा निर्वाचन गराइनु पर्ने माग गरिएको छ ।

रिटमा आज अन्तरिम आदेश जारी हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ ।

पाँच दल आवद्ध विपक्षी गठबन्धनले प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्ने मागसहित १४६ जना तत्कालीन सांसदले पनि हस्ताक्षरसहित रिट हालेका छन् ।

यसैगरी प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गरेका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग राखी अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायतले चारवटा रिट निवेदन दर्ता गराएका छन् ।

राष्ट्रपति भण्डारीले जेठ ७ गते राति प्रतिनिधिसभा भंग गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया