चिठी खबर
सरकारमा सहभागी एक स्वतन्त्र सांसद दीपक मनाङेले कित्ता परिवर्तनको संकेत देखाएपछि गण्डकी प्रदेशमा नेकपा एमालेको सरकार धर्मराउने देखिएको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीवार विश्वासको मत लिने तयारी गरेको पूर्वसन्ध्यामा मनाङे विपक्षी गठबन्धनतर्फ आकर्षित भएका छन् ।
गुरुङकै सरकारमा मन्त्री रहेका मनाङेले मुख्यमन्त्रीको विपक्षमा मत हाल्ने बताएका छन् ।
२०७४ सालको निर्वाचनमा मनाङबाट निर्वाचित सांसद मनाङे कहिले एमाले र कहिले विपक्षी गठबन्धनसँग निकट देखिएका छन् ।
यसअघि मुख्यमन्त्री गुरुङविरुद्ध पेश गरिएको अविश्वासको प्रस्तावमाथि मतदान गर्ने दिन जनमोर्चाका एक सांसदको अनुपस्थितिले सरकार जोगिएको थियो ।
पछि प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेको समयमा जनमोर्चाकै अर्का सांसदले विपक्षी गठबन्धनको पक्षमा मतदान गर्न अस्वीकार गरेपछि सरकार गिराउने प्रयास विफल बनेको थियो ।
६० सदस्य रहेको गण्डकी प्रदेश सभामा एमालेका २७ जना सांसद छन् । गुरुङलाई सरकार जोगाउन मनाङेको समर्थन र जनमोर्चाका एक सांसद तटस्थ बस्नु अनिवार्य छ ।
जनमोर्चा सांसद कृष्ण थापाले कांग्रेसलाई साथ नदिने अडान लिँदै आएका छन् ।
प्रदेश सभामा कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका ३ र जसपाको बाबुराम भट्टराई पक्षका २ जना सांसद छन् ।
स्वतन्त्र हैसियतमा रहेका दिपक मनाङे अहिले सम्पर्कविहीन छन् । बिहीवार दिउँसो १२ बजे बस्ने प्रदेश सभामा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने कार्यसूची छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया