चिठी खबर
नेकपा माओवादी केन्द्रले माओवादी केन्द्रको दल दर्ता खारेज गर्न माग गर्नु हास्यास्पद भएको बताएको छ ।
पूर्वमाओवादी केन्द्रका नेताहरुले बुधबार माओओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि माओवादी केन्द्रले यस्तो बताएको हो ।
माओवादी केन्द्रले आज एक विज्ञप्ति जारी गरेर पार्टीसँग कुनै सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खारेजी सम्बन्धी सामान्य कानूनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले यस्तो हरकत गर्नु हास्यास्पद भएको बताएको छ ।
केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनशायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको भन्दै माओवादी केन्द्रले संविधान, कानुन, विधि, विधान विपरित दुष्प्रचार गरिएकोमा पार्टीका सम्पूर्ण अंग नेता कार्यकर्ता, शुभचिन्तक भ्रममा नपर्न आग्रह गरेको छ ।
यस्ता अनाधिकृत तथा आयोेगसँग बेसरोकार निवेदन दर्ता स्वीकृत गर्दा अनावश्यक भ्रम सृजना हुने भन्दै माओवादी केन्द्रले अव त्यस्तो नगर्न समेत आयोगलाई आग्रह गरेको छ ।
यता नेकपा माओवादी केन्द्रको दल दर्ता खारेज गर्न निवेदन दिएका पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह,मणि थापा र गौरीशंकर चौधरीलगायत आजै आयोग पुगेका थिए । उनीहरुले निवेदनबारे छिटो निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया