चिठी खबर
प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा विहान ११ बजे बस्ने बैठकमा गत शुक्रबारदेखि खर्च गर्न नपाएको सरकारले विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस भन्ने प्रस्ताव राख्ने कार्यसूची रहेको छ ।
विनियोजन विधेयक पारित भएपछि मात्रै राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रस्तुत भएर सैद्धान्तिक छलफल हुने व्यवस्था छ ।
आजको बैठकमा विनियोजन विधेयकमा सबै मन्त्रालयका लागि विनियोजित बजेट र त्यसका शीर्षकमाथि छलफल गर्ने तयारी छ ।
आज एकै दिन छलफल सकाएर पारित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूूची छ ।
विनियोजन विधेयकमाथि सांसद प्रेम सुवालले मात्रै खर्च कटौतीको प्रस्ताव राखेकाले मन्त्रालयगत छलफल सकेर आजको बैठकमै अर्थमन्त्रीले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने छन् ।
त्यसपछि राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयकमाथि सैद्धान्तिक छलफल गरेर संशोधनका लागि ७२ घण्टाको अवधि सुरु गर्ने तयारी छ ।
प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित भएमा आज नै राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभाको बैठक भोलि बोलाइएको छ ।
भदौ २३ देखि सुरु भएको प्रतिनिधि सभा बैठकमा अवरोध गर्दै आएको एमालेले आज पनि अवरोध कायमै रहने जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया