×

अफगानिस्थानबाट १ सय ६४ नेपाली काठमाडौं आइपुगे

भदौ १, २०७८, मङ्लबार
चिठी खबर

तालिवानको नियन्त्रणमा रहेको अफगानिस्तानबाट एक सय ६४ नेपाली स्वदेश आइपुगेका छन् । ऊनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कुबेत पुर्याएको थियो ।
नेपालीलाई ल्याउन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ । उनीहरुलाई सामाखुसीस्थित एक आइसोलेसन सेन्टरमा राखिने छ । त्यसपछि प्रक्रिया पुर्याएर घर पठाइने छ ।
परराष्ट्र स्रोतका अनुसार बेलायती दूतावासमा कार्यरत ८७ नेपालीलाई पनि बेलायत सरकारले त्यहाँबाट उद्धार गरिसकेको छ ।
संयुक्त राष्ट्रसंघको कार्यालय, युएनएचसिआर, आइओएमलगायतका निकायमा कार्यरत चार सय ७० जना नेपाली पनि उद्धारको पर्खाइमा रहेका छन् ।
क्यानडाको दूतावासमा कार्यरत ६० जना र जर्मनी दूतावासमा कार्यरत ६० भन्दा बढी नेपालीलाई पनि अमेरिकी एयरफोर्सको विमानबाट उद्धार गर्ने तयारी छ । जापानी दूतावासमा कार्यरत ६२ जनालाई ७२ घन्टाभित्र काबुलबाट उद्धार गरेर काठमाडौं तयारी भइरहेको छ ।
यसैबीच, सरकारले अफगानिस्तनमा १५ सय मात्रै नेपाली कामदार भएको तथ्यांक सार्वजनिक गर्दा वैदेशिक रोजगार व्यवसायी संघले भने १५ हजारको संख्यामा रहेको जनाएको छ । जसमध्ये संस्थागत रूपमै जाने कामदार चार हजार रहेको संघको दाबी छ ।

यस्तै अफगानिस्तानको पछिल्लो घटनापछि त्यहाँ रहेका १३४ नेपालीले आफूहरूलाई उद्धार गरिदिन आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार साँझसम्म ती नेपाली सम्पर्कमा आई उद्धारका लागि आग्रह गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया