×

सरकारी बजेटको विकासमा नेताको जस खोज्ने प्रतिस्पर्धा !

जेष्ठ १७, २०७८, सोमवार
चिठी खबर

कोरोना संक्रमित बिरामीको उपचार अभाव भएपछि अर्थमन्त्रालयले जिल्ला अस्पतालहरुमा आईसीयू वेड, एचडीयू थप्न र अक्सिजन प्लान्ट स्थापना गर्न करिब ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

तर, अस्पतालहरुमा दिने भनिएको बजेट माथि नेता कार्याकर्ताको रजगज चलेको पाईएको छ । जिल्ला अस्पताल, प्रादेशिक तथा स्थानीय स्तरमा अर्थमन्त्रालयले पठाउने सहमति गरेको बजेट माथि सत्ताधारी र विपक्षीदलका नेता कायाकर्ता आफ्नो पहलमा बजेट आएको भन्दै जस् लिने होडबाजीमा लागेका छन् ।

सिन्धुपाल्चोक–२ नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गत वैशाख २५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिल्ला अस्पताल चौतारमा एउटा अक्सिजन प्लान्ट स्थापनाका लागि बजेट माग गरी पत्र लेखे ।

त्यस्तै, जेठ ६ गते सिन्धुपाल्चोक–१ बाट निर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पनि जिल्ला अस्पातल चौताराकै लागि २ करोड बजे माग गर्दै मन्त्रालयलाई पत्र पठाए ।

अहिले, स्वास्थ्य मन्त्रालयको सिफारीसमा अर्थमन्त्रालयबाट अक्सिजन ट्यांक खरिद जडानका लागि जिल्ला अस्पताल चौतारालाई ७५ लाख रुपैयाँ बजेट पठाएको छ ।

तर त्यही ७५ लाख बजेट झगडाको बिउ बन्यो । आफ्ना नेताको पहलमा आएको भन्दै तामाङ र सापकोटा निकटका कार्यकर्ताहरु सामाजिक सञ्जाल देखि स्थानीय स्तरसम्मै झगडामा व्यस्त देखिन्छ ।

त्यस्तै, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि गुल्मी जिल्ला अस्पताल तम्घासको माग पत्र सहित् अस्पतालका लागि आइसीयू र अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखे । मन्त्रालयको सिफारीसमा अर्थ मन्त्रालयबाट ५ बेडको आइसीयू निर्माणका लागि २ करोड रुपैयाँ बजेट विनियोजन भएको गर्यो ।

यस्तै कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले पनि स्याङ्जा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनका लागि १ करोड ५० लाख माग गर्दै स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्र पठाईन । उनको माग पनि सरकारले पुरा गर्यो । सरकारले दिएको पैसााई लिएर अर्याल निकट कार्यकर्ताले सामाजिक सञ्जालमा उनको जयगान गरेका छन् ।

मन्त्रीज्यूको सक्रियातमा ठुलो काम भएको र स्याङ्जा जिल्लामा अक्सिजनको अभावबाट कसैले ज्यान गुमाउन नपर्ने भन्दै अर्याल निकटस्थहरु जस् दिन पछि परेनन् ।

काभ्रे स्थित् धुलिखेल अस्पतालाई ६ करोड ८० लाख बजेट भित्र रही अक्सिजन प्लान्ट, भेण्टीलेटर खरिद गर्न पाउने भनिएको छ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले यस अघि नै धुलिखेल अस्पतालको क्षमता विस्तार बारे सामाजिक सञ्जालमा यसकाबारे प्रचारप्रसार गरिरहेका छन् ।

चरिकोट जिल्ला अस्पताल दोलखाले एचडी ५ वेड विस्तारका लागि ८० लाख रुपैयाँ र अक्सिजन प्लान्ट खरिदका लागि ७५ लाख रुपैयाँ बजेट दिने भएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङकोे पहलमा पैसा आएको भनि दावी गर्दै उनको पनि जयगान सुरु भएको छ ।
हाल मन्त्रीमण्डलमा रहेका नेताहरुको गहृजिल्लामा कम्तिमा डेढ करोड भन्दा कम बजेट गएको देखिदैन ।
त्यस्तै, नेपाली कांग्रेसका सभापति शेर बहादुर देऊवाको गृहजिल्लामा डडेलधुरा जिल्ला अस्पतालका लागि ८ करोड ८० लाख रुपैयाँ सरकारले दिएको छ । पहुचका आधारमा बजेट दिने सरकारले आवश्यक क्षेत्रलाई भने कहिल्यै हेर्दैन् ।

स्वास्थ्य मन्त्रालयले भने अस्पतालरुको क्षमता, अवस्था विश्लेषण गरी बजेट राखिएको दावी गर्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारीसमा अर्थमन्त्रालयबाट देशभरका अस्पतालहरुमा झण्डै ६ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । अर्थमन्त्रालयले सबैभन्दा धेरै बजेट वीरअस्पतालाई ३० करोड ८० लाख विनियोजन गरेको छ । त्यस्तै, राष्र्टिय ट्रमा सेन्टरलाई अक्सिजन प्लान्ट, आइसीयू स्थपनाका लागि १२ करोड ६० लाख विनियोजन गरेको छ । राष्र्टिय ट्रमा सेन्टरले मन्त्रालयले ताकेता गर्नुअघि नै तयारी गरेकाले आइसीयु र एचडीयु थप्नेबाहेक अन्य शिर्षकका बजेट आवश्यक नभएको बताएको छ ।

भेरी अस्पतालले बाहेक अन्यले प्रगत्ति विवरण बुझाएका छैन

अर्थमन्त्रालयले भेरी अस्पतालका लागि १५ करोड रुपैयाँ बजेट दिने भनेको छ । भेरी अस्पताललेभने पूर्वाधार व्यवस्थापनका लागि टेण्डर आहावन गरेको छ । कोभिड महामारी बढ्दै गएकोले तत्काल पूर्वाधार व्यवस्थापन गर्न बजेट विनियोजन गरेको भएपनि भेरी अस्पतालले बाहेक अन्य अस्पतालले केही विवरण नबुझाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

महामारीको बेला जनता जोगाउनु भन्दा जनताको सेन्टीमेन्ट माथी ब्ल्याकमेलिङ गर्न होडबाजी गर्नु पनि अपराध हो । अहिले कोरोना महामारीमा जिऊ जोगाए भोली तिनै जनताले पक्कै मूल्याकंन गर्ने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया