पदमुक्त भएको एक सातासम्म पनि छोडेनन पुर्ब मन्त्रीहरुले क्वाटर । जेष्ठ १३, २०७८, बिहिबार चिठी खबर काठमाडाैँ, १३ जेठ । सर्वोच्च अदालतबाट ६ जेठमा पदमुक्त मन्त्रीहरूले सरकारी सुविधाको आवास अझै ओगटिरहेका छन्। पूर्वमन्त्री रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट, मणि थापा र गौरीशंकर चौधरीले पुल्चोकस्थित मन्त्री आवास पदमुक्त भएको एक सातासम्म पनि ओगटिरहेका हुन्। सर्वोच्चले सांसद नभईकन मन्त्रीमा फेरि दोहोरिनु संविधानको मर्मप्रतिकूल रहेको भन्दै कामकाज नगराउन ६ जेठमा अन्तरिम आदेश दिएको थियो। सर्वोच्चको आदेशसँगै उनीहरू पदमुक्त भएका थिए। पदमुक्त भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट चिट्ठी प्राप्त नभएका र नयाँ मन्त्रीहरू नियुक्त नभएको कारण देखाउँदै पूर्वमन्त्रीहरूले आवास ओगटिरहेका हुन्। ‘मुख्यसचिवबाट पत्र प्राप्त भएको छैन। अहिले सबै पूर्वमन्त्रीले आवास होल्ड गरिरहेका छन्,’ पूर्वमन्त्री बादलको सचिवालयका एक सदस्यले भने। बादलले पनि आवास कहिले छोड्ने भन्ने विषय टुंगो नलागेको ती सदस्यको भनाइ छ। पूर्वमन्त्री लेखराज भट्टले आफूले आवास छोडे पनि सामान भने पुल्चोकमै रहेको बताएका छन्। आफ्नो सचिवालयका सहयोगीहरू त्यहाँ बसिरेहको उनले बताए । ‘म धापाखेलस्थित निवासमा सरिसकेँ, सामान भने ल्याउन पाएको छैन। अब केही दिनमा सामान सारेर खाली गर्छु,’ उनले भने। यस्तै, पदमुक्त अर्का मन्त्री रायमाझीले भने विस्तारै खाली गर्ने प्रतिक्रिया दिए। ‘अहिले म पुल्चोकमै छु। आवास खाली गर्न के हतार छ र, विस्तारै खाली गरौँला नि,’ उनले भने। सामान्यतया मन्त्रीले आफ्नो पद गुम्नेबित्तिकै आवास छोड्नुपर्ने, यदि १५ दिनभित्रसम्म पनि उपयोग गरिरहेको पाइए मुख्यसचिवले आवास खाली गर्न पत्राचार गर्ने प्रचलन हुने पूर्वप्रशासक विमल कोइराला बताउँछन्। ‘नैतिकताको कुरा गर्ने हो भने मन्त्री पद गुमेकै दिन आवास छोड्नुपर्ने हो। पदमुक्त हुने आवासमा बसिरहने कार्य शोभनीय हुँदैन। तर, आवास छोड्न १५ दिनको समय दिने प्रचलन छ। १५ दिनसम्म पनि जबर्जस्ती गरिरहे भने छोडाउनका निम्ति मुख्यसचिवले पत्र पठाउनुपर्छ,’ उनले भने। २३ फागुनमा सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेमा लागेका उनीहरूलाई माओवादी केन्द्रले कारबाही गरेको थियो । दावा लामा र मणि थापाबाहेक सबै सांसद थिए। माओवादी केन्द्र त्याग गरेपछि पार्टीले राजनीतिक दलसम्बन्धी ऐनका आधारमा उनीहरूलाई सांसदबाट हटाएको थियो। थप समाचारहरु Facebook Twitter WhatsApp LinkedIn फेसबुकबाट तपाईको प्रतिक्रिया
फेसबुकबाट तपाईको प्रतिक्रिया